सर्लाही । सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार शुक्रबार गौडेता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।
एसपी पौडेलले घाइतेको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलाइएको जानकारी दिए। उनका अनुसार घटनाको कारण हालसम्म खुल्न सकेको छैन।
प्रहरीले अहिले घाइतेको उपचारलाई प्राथमिकता दिइएको र त्यसपछि घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान गरिने जनाएको छ।
घाइते मण्डललाई काठमाडौं लैजान हेलिकोप्टरको व्यवस्था मिलाउन स्थानीय प्रशासनले सर्लाहीका प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहसँग समन्वय गरेको जनाएको छ। सांसद सिंहले उपचारका लागि हेलिकोप्टर पठाउने व्यवस्था भइरहेको जानकारी दिएका छन्।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।


