काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयमा केही दिनदेखि अवरुद्ध रहेको अनलाइन प्रणाली पुनः सञ्चालनमा आएको छ। केन्द्रीय सर्भर र नेटवर्कमा देखिएको प्राविधिक समस्या समाधान भएपछि मंगलबार दिउँसो ३ बजेदेखि अधिकांश कार्यालयबाट सेवा प्रवाह सुरु भएको हो।

सर्भर र नेटवर्कमा आएको खराबीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन, नवीकरण, स्मार्ट कार्ड छपाइ, सवारी साधनको नामसारी, कर भुक्तानी तथा जाँचपासलगायतका सबै अनलाइन सेवा प्रभावित भएका थिए। प्रणाली अवरुद्ध हुँदा देशभरका यातायात व्यवस्था कार्यालयको दैनिक प्रशासनिक कामसमेत प्रभावित बनेको थियो।

प्राविधिक टोलीले निरन्तर प्रयासपछि सर्भरमा देखिएको समस्या पहिचान गरी समाधान गरेपछि प्रणाली पुनः सञ्चालनमा आएको विभागले जनाएको छ।

यातायात व्यवस्था विभागका आईटी डाइरेक्टर केशव खतिवडाले अधिकांश कार्यालयबाट सेवा सुरु भइसकेको जानकारी दिए। उनका अनुसार केही कार्यालयमा बाँकी रहेका प्राविधिक समस्या समाधान गर्ने काम भइरहेको छ र ती कार्यालयमा पनि छिट्टै सेवा सुचारु गरिनेछ।


