वीरगञ्ज | वीरगञ्ज महानगरपालिका–७ को कुम्हालटोल क्षेत्रमा फोहोर व्यवस्थापनमा गम्भीर लापरवाही भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। फोहोर संकलन गर्न आउने ट्याक्टरका चालक तथा उनीसँगै रहेका व्यक्तिले “यो महानगरपालिकाको निर्देशन हो” भन्दै व्यक्तिगत रूपमा रकम माग्ने गरेको आरोप स्थानीयले लगाएका छन्। यस घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको छ।

कुम्हालटोलस्थित द चिल्ड्रेन गार्डेन मन्टेसरीकी सञ्चालिका रोशनी श्रीवास्तवका अनुसार विद्यालयको फोहोर विगत सात दिनदेखि जानाजानी नउठाइँदा विद्यालय परिसरमा दुर्गन्ध फैलिएको छ। डस्टबिनमा फोहोर थुप्रिँदा साना बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।
श्रीवास्तवका अनुसार आफू एक साताका लागि भारत गएको र फर्किएपछि विद्यालय परिसरमा फोहोर थुप्रिएको अवस्थामा फेला परेको थियो। कर्मचारीसँग बुझ्दा फोहोर संकलन गर्ने टोलीले हरेक हप्ता व्यक्तिगत रूपमा रकम माग्ने गरेको र रकम नदिएपछि फोहोर नउठाएको जानकारी पाएको उनले दाबी गरिन्।
“विद्यालयमा साना बालबालिका अध्ययन गर्छन्। फोहोरका कारण संक्रमण फैलिने जोखिम बढेको छ। भोलि कुनै विद्यार्थी बिरामी परे त्यसको जिम्मेवारी कसले लिने?” भन्दै उनले चिन्ता व्यक्त गरिन्।
स्थानीयवासीका अनुसार फोहोर उठाउने टोलीले व्यक्तिगत रूपमा रकम माग्दै त्यसलाई महानगरपालिकाको निर्देशन भएको दाबी गर्ने गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले पनि घटनामाथि थप प्रश्न उठाएको छ।
स्थानीय तथा विद्यालय प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न, नियमित रूपमा फोहोर संकलनको व्यवस्था मिलाउन तथा यस्ता गतिविधि दोहोरिन नदिन वीरगञ्ज महानगरपालिका र वडा नं. ७ कार्यालयसँग माग गरेका छन्।
यद्यपि, समाचार तयार पार्दासम्म यस विषयमा वीरगञ्ज महानगरपालिका तथा वडा नं. ७ कार्यालयको आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन। महानगरको धारणा आएपछि त्यसलाई पनि समेटिनेछ।


