काठमाडौं । गाजामा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अघि बढाइएको शान्ति प्रक्रियाअन्तर्गत हमासले केही सर्तसहित हतियार बिसाउन सहमति जनाएपछि पाकिस्तानले त्यसको स्वागत गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल एक्समार्फत हमासको निर्णयलाई सकारात्मक कदमको रूपमा व्याख्या गर्दै गाजा शान्ति प्रक्रियामा भएको प्रगतिले दीर्घकालीन समाधानतर्फ आशा जगाएको बताएका छन्।
सरिफले अमेरिका, इजिप्ट, कतार र टर्कीसहित शान्ति प्रक्रियामा संलग्न मध्यस्थकर्ता मुलुकहरूको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि बढाइएको पहललाई महत्वपूर्ण उपलब्धि बताएका छन्।
उनले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघका प्रस्तावअनुसार निश्चित समयसीमाभित्र शान्ति प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्दै प्यालेस्टिनी जनताले आफ्नै भविष्य निर्धारण गर्ने अधिकार सुनिश्चित हुनुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्री सरिफले सन् १९६७ अघिको सीमालाई आधार मानेर स्वतन्त्र र सार्वभौम प्यालेस्टिन राज्य स्थापना हुनुपर्ने तथा त्यसको राजधानी पूर्वी जेरुसेलम (अल–कुद्स अल–सरिफ) हुनुपर्ने पाकिस्तानको पुरानै अडान पुनः दोहोर्याएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो शान्ति पहलअन्तर्गत गाजामा हमास र अन्य सशस्त्र समूहसँग सहमति भएको बताएका थिए। सोही सहमतिअनुसार हमास हतियार बिसाउन तयार भएको जनाइएको छ।
बीबीसीसँगको कुराकानीमा हमासका एक वरिष्ठ अधिकारीले पनि गाजामा पूर्ण रूपमा हतियार बिसाउने प्रस्तावमा संगठन सहमत भएको पुष्टि गरेका छन्।


