काठमाडौं |इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य दोहोरो अङ्कले बढाएर पठाएपछि नेपालमा पनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्ने संकेत देखिएको छ। नेपाल आयल निगमले भने नयाँ मूल्यसूची सार्वजनिक गर्नुअघि सञ्चालक समितिको निर्णय पर्खिरहेको जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण आईओसीबाट प्राप्त नयाँ दररेटमा उल्लेख्य वृद्धि भएको निगमले जनाएको छ। यसपटक आएको मूल्यवृद्धि स्वचालित मूल्य प्रणालीले व्यवस्थापन तहबाट समायोजन गर्न सक्ने सीमाभन्दा बढी भएकाले सञ्चालक समितिको निर्णय आवश्यक परेको हो।
सामान्यतया नेपाल आयल निगमले हरेक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा आईओसीबाट प्राप्त नयाँ दररेटका आधारमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ। नियमअनुसार प्रतिलिटर २ रुपैयाँसम्मको मूल्य हेरफेर व्यवस्थापनले गर्न सक्ने भए पनि सोभन्दा बढी परिवर्तनका लागि सञ्चालक समितिको स्वीकृति अनिवार्य हुन्छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार प्राप्त नयाँ दररेटमा ठूलो परिवर्तन भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीको अध्यक्षतामा बस्ने सञ्चालक समितिले निर्णय गरेपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ।
शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको र त्यसकै कारण नयाँ मूल्य सार्वजनिक हुन नसकेको निगम स्रोतले जनाएको छ। बैठक बसेर निर्णय भएपछि देशभर एकैपटक नयाँ मूल्य लागू गरिने तयारी रहेको छ। यद्यपि बैठक कहिले बस्ने र नयाँ मूल्य कहिलेदेखि लागू हुने भन्ने विषयमा भने निगमले अझै निश्चित मिति सार्वजनिक गरेको छैन।


