सिरहा| सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले एक थान स्वचालित पेस्तोल र त्यसको म्याग्जिनसहित तीन जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा लहान नगरपालिका–२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार मङ्गलबार राति करिब १०:३० बजे फूलबारी क्षेत्रबाट आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी सीतापुरबाट प्रहरी सहायक निरीक्षक (असई) प्रदीप मधुवन यादवको नेतृत्वमा खटिएको टोलीले शङ्कास्पद अवस्थामा फेला पारेको थियो। चेकजाँचका क्रममा साबरजित दासको साथबाट एक थान स्वचालित पेस्तोल र त्यसको म्याग्जिन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछपछि इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार बरामद गरिएको पेस्तोल र म्याग्जिन कहाँबाट ल्याइएको हो, यसको प्रयोगको उद्देश्य के थियो तथा उनीहरू कुनै आपराधिक समूह वा अवैध हातहतियार कारोबारमा संलग्न छन् वा छैनन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।

एसपी पाठकले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा पक्राउ परेका व्यक्तिविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइने जानकारी दिए।


