काठमाडौं । मधेश केन्द्रितसहित सात राजनीतिक दलले शनिबार ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा सात दलले संयुक्त रूपमा मोर्चा घोषणा गरेका हुन्।

मोर्चामा जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी, आम जनता पार्टी, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन्।

मोर्चा घोषणा कार्यक्रममा सहभागी दलका नेताहरूले देशको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थालाई ध्यानमा राख्दै साझा मुद्दामा सहकार्य गर्न मोर्चा गठन गरिएको बताएका छन्।

मोर्चाले जनताको अधिकार, संघीयता, सुशासन र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्दै आगामी राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ।सात दलबीचको सहकार्यलाई थप मजबुत बनाउँदै साझा राजनीतिक एजेन्डाका आधारमा अघि बढ्ने नेताहरूले बताएका छन्। उनीहरूले साझा मुद्दामा सहकार्य र समन्वय गर्दै राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने बताएका छन्।


