काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा १७ वर्षीया किशोरीको डिम्ब (अण्डा) निकालिएको घटनामा प्रहरीले वरिष्ठ स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्मासँग बयान लिएको छ ।

गत असार १४ गते अस्पतालको आइभिएफ सेन्टरमा किशोरीको डिम्ब निकालिएको आरोपमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो । अनुसन्धानका क्रममा डा. शर्माको समेत संलग्नता देखिएपछि प्रहरीले उनको बयान लिएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार सरकारी वकिल कार्यालयको सहमति तथा निर्देशनमा शुक्रबार डा. शर्माको बयान लिइएको हो । उनलाई हाल हाजिर जमानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले डा. शर्मालाई पक्राउ गर्न अदालतबाट अनुमति लिन दुई पटक प्रयास गरेको थियो । तर अदालतबाट अनुमति नपाएपछि सरकारी वकिलको निर्देशनअनुसार अनुसन्धानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लमजुङ घर भई इमाडोलमा ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई यसअघि नै पक्राउ गरेको थियो । उनलाई पनि हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको छ ।पीडित किशोरीको परिवारले गत साउन १ गते डिम्ब निकाल्ने चिकित्सक तथा घटनामा संलग्न भनिएका बिचौलियामाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए ।

प्रहरी अनुसन्धानमा किशोरीलाई प्रलोभनमा पारेर ३० हजार रुपैयाँ मात्र दिई डिम्ब निकालिएको प्रारम्भिक विवरण खुलेको छ । डिम्ब निकालिएपछि स्वास्थ्यमा जटिलता देखिएर किशोरी गम्भीर बिरामी भएपछि मात्रै परिवारले घटनाबारे जानकारी पाएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।
घटना संवेदनशील रहेकाले संलग्न व्यक्तिहरूको भूमिका, किशोरीलाई कसरी प्रलोभनमा पारिएको थियो तथा डिम्ब निकाल्ने प्रक्रियामा कस–कसको संलग्नता थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


