रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा मंगलबार दिउँसो तीन बालबालिका बेपत्ता भएका छन्।

दिउँसो करिब १ः५० बजे नदीमा नुहाउने क्रममा बालबालिका बेपत्ता भएको सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार थालेको थियो।
बेपत्ता हुनेमा देवाही गोनाही–२ लक्ष्मिनियाका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, सोही स्थानका शेख खुरौसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।
खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा सात जना तथा इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा १६ जनाको टोली परिचालन गरिएको छ।
खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन दिउँसो २ः४० बजे सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा नौ जनाको डाइभिङ तथा उद्धार टोली र रबर बोटसहित घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दासमेत नदीमा बेपत्ता बालबालिकाको खोजीमा जुटेका छन्। समाचार तयार पार्दासम्म तीनै जनाको अवस्था पत्ता लाग्न सकेको छैन। प्रहरीले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ।


