वीरगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। शाखाले बुधबार वीरगञ्जस्थित रक्त सञ्चार केन्द्र (ब्लड बैंक) परिसरमा सरसफाइसँगै रक्तदान कार्यक्रम गरेको हो।

कार्यक्रमअन्तर्गत रेडक्रस पर्सा शाखाको भवन तथा रक्त सञ्चार केन्द्र परिसरमा सरसफाइ गरिएको थियो। रक्तदान कार्यक्रमको शुभारम्भ शाखा सभापति बृजकिशोर पटेलले रक्तदान गरेर गरेका थिए।
युवालाई सामाजिक सेवामा सक्रिय सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभापति पटेलले बताए।
रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार बुधबार दिउँसो ३ बजेसम्म २० जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा सभापति पटेलसहित अमित साह, राधेकृष्ण पाण्डे, ओमकुमार पटेल, तीर्थराज साह र मनिष सिंहलगायत छन्।
युवाको सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र समुदायप्रतिको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको रेडक्रस पर्साले जनाएको छ। शाखाले आगामी दिनमा पनि रक्तदान, सरसफाइ तथा सामाजिक सचेतनासहितका मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


