वीरगञ्ज । युवा नेतृत्व, उद्यमशीलता र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ विभिन्न कार्यक्रमसहित मनाएको छ।

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्ने नारासहित बुधबार वीरगञ्जमा युवा र्याली निकालिएको थियो। एनवाइइएफ वीरगञ्ज च्याप्टर र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको संयुक्त आयोजनामा भएको र्याली माइस्थानस्थित गहवा माई मन्दिरबाट सुरु भई गीतामन्दिर, घडिअर्वा पोखरी हुँदै सरोवर पोर्टिको होटलमा पुगेर सम्पन्न भएको हो।
र्यालीमा सहभागी युवाहरूले लागुऔषधविरुद्ध जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै युवालाई कुलतबाट टाढा रहन तथा शिक्षा, सिर्जनशीलता र सकारात्मक सोचमार्फत भविष्य निर्माणमा अघि बढ्न आह्वान गरेका थिए।
र्यालीपछि सरोवर पोर्टिको होटलमा एनवाइइएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा मुख्य कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनिष झा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले युवा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन तथा सामाजिक जिम्मेवारीका विषयमा धारणा राख्दै युवालाई सकारात्मक परिवर्तनका संवाहकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। विभिन्न कलेजका विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका डा.बासु कर्ण, डा. अरविन्द श्रेष्ठ, डा. नीरज सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं उद्योगपति गणेश लाठ, डा.सुबोध गुप्ता, युवा नेता सुधीर पटेल, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, भारतीय दूतावास वीरगञ्जका मनिष सिंह, एनवाइइएफका कार्यकारी सदस्य पवित्रा गौतम, होप गिभर नेपालका संस्थापक रोमन गुरुङ,रास्वपा पर्सा क्षेत्र एकको पुर्व सभापति राम आर्य,नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईंलगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै अवसरमा आयोजित सामग्री सिर्जनाकर्ता प्रतियोगिता–२०२६ मा कन्हैया सराफ विजेता बने। उनलाई नगद ५ हजार १ सय रुपैयाँ, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार कार्यक्रमले वीरगञ्जका युवालाई लागुऔषधविरुद्धको अभियानसँगै नेतृत्व, उद्यमशीलता र सिर्जनात्मक गतिविधिमा जोड्दै सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रमको सञ्चालन सूर्यनारायण विकले गरेका थिए।


