काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेललाई आकस्मिक समयमा चुनावी गतिविधिबारे बोल्न खोज्दा सभामुख डोलप्रसाद अर्यालले रोकेका छन्।

सोमबारको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर रोस्ट्रममा पुगेका सांसद खरेलले स्थानीय तह र प्रदेशसभाको आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो दलले ‘क्यान्डिडेट क्लब’ सुरु गरेको जानकारी गराएका थिए।
खरेलले प्रदेशसभा र संघीय संसद्सँग सम्बन्धित विषयमा थप धारणा राख्न खोजेपछि सभामुख अर्यालले हस्तक्षेप गरेका हुन्। उनले सांसदले उठाएको विषय आकस्मिक प्रकृतिको नरहेको भन्दै आफ्नो आसनमा बस्न निर्देशन दिए।
सभामुख अर्यालले भने, “माननीय सदस्यले आकस्मिक समय माग्नुभएको थियो, तर यो विषय कहीँ पनि आकस्मिक देखिँदैन, त्यसकारण बसौँ माननीय सदस्य।”
सभामुखको निर्देशनपछि सांसद खरेल आफ्नो स्थानमा फर्किएका थिए।
प्रतिनिधिसभा नियमावलीको नियम १५ अनुसार अघिल्लो र चालु बैठकबीच घटेका गम्भीर प्रकृतिका घटना वा विषयमा सरकारको ध्यानाकर्षण गराउन आकस्मिक समयको व्यवस्था गरिएको छ। आकस्मिक समयमा उठाइएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने प्रावधानसमेत छ।


