वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे सरकारले अध्ययन अघि बढाएको छ। यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल गठन गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको कार्यदलले कारखानाको वर्तमान अवस्था, पुराना सरकारी निर्णय तथा यसअघि भएका अध्ययन र प्रतिवेदनको समीक्षा गर्दै पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्नेछ।
कार्यदलले कारखाना परिसरका भवन, संरचना, मेसिनरी तथा पार्टपुर्जाको अवस्था र उपयोगितासमेत मूल्यांकन गर्नेछ। पुरानै संरचना र उपकरणबाट सञ्चालन सम्भव छ वा नयाँ प्रविधि तथा पूर्वाधार आवश्यक पर्छ भन्ने विषय पनि अध्ययन गरिनेछ।
यस्तै, कारखानाको स्वामित्वमा रहेको जग्गा तथा अन्य सम्पत्तिको अवस्था, कानुनी समस्या र व्यवस्थापकीय चुनौती पहिचान गरी समाधानका विकल्पसमेत कार्यदलले सुझाउनेछ।मन्त्रालयका सीडीई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदललाई १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
प्रतिवेदनका आधारमा कारखाना पुनः सञ्चालनका लागि आवश्यक लगानी, प्रविधि, व्यवस्थापन र कानुनी प्रक्रियाबारे सरकारले निर्णय लिने तयारी गरेको छ।वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा आएमा स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै वीरगञ्जको औद्योगिक गतिविधि र कृषि क्षेत्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।


