वीरगञ्ज । भारतको अरेराजमा बोलबम यात्राका क्रममा बसबाट खसेर बसकै पछाडिको चक्काले किच्दा बाराका एक तीर्थयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–३ भटिनिया निवासी वनारसी राय यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यादव गाउँका अन्य व्यक्तिहरूसँगै बोलबम यात्राका लागि मे १ ख २४२९ नम्बरको बस रिजर्भ गरेर भारतको अरेराज गएका थिए।गत शनिबार दिउँसो करिब ३ बजे यात्रा गरिरहेका बेला यादव अचानक बसबाट खसेका थिए। बसबाट खसेलगत्तै सोही बसको पछाडिको चक्काले किच्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते यादवलाई तत्काल उपचारका लागि भारतबाट वीरगञ्जस्थित नेशनल मेडिकल कलेज ल्याइएको थियो। आइतबार बिहान अस्पताल पुर्याइएका यादवलाई चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका हुन्।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


