वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले मधेसका जिल्लामा बढ्दै गएको हिंसा, बलात्कार, कुटपिट, लागूऔषध तथा वित्तीय अपराध नियन्त्रणका लागि राज्यले घटना भएपछि मात्रै प्रतिक्रिया दिने नभई अपराध हुनुअघि नै रोकथाममा केन्द्रित हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद साहले बारा लगायत मधेसका जिल्लामा आपराधिक गतिविधि बढ्दै जाँदा सिङ्गो मधेस अशान्त बन्दै गएको भन्दै यसलाई राज्यका लागि गम्भीर चिन्ताको विषय भएको बताए।
अपराध नियन्त्रणका लागि स्थानीय भाषामा कानुन, नागरिकका अधिकार तथा कानुनी कारबाहीसम्बन्धी जनचेतनामूलक अभियान तत्काल सञ्चालन गर्न उनले सरकारसँग माग गरे। अपराध भइसकेपछि अनुसन्धान र कारबाहीमा मात्रै सीमित नभई पूर्वतयारी तथा रोकथामका उपायलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

झैँ–झगडाका घटनामा संलग्न दुवै पक्षलाई अनुसन्धानका क्रममा कानुनी दायरामा ल्याई निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै साहले दण्डहीनताको अन्त्य आवश्यक रहेको बताए। संवेदनशील क्षेत्रमा सिसिटिभी, सडक बत्ती तथा डिजिटल मुद्दा व्यवस्थापन प्रणाली विस्तार गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
नाबालकसँग सम्बन्धित अपराध न्यूनीकरणका लागि विद्यालय तहदेखि नैतिक शिक्षा र घरमा अभिभावकीय संस्कारलाई प्रभावकारी बनाउनुपर्ने साहको भनाइ छ। अपराधमा संलग्न नाबालकका अभिभावकलाई समेत आवश्यक कानुनी जिम्मेवारीको दायरामा ल्याउने व्यवस्था गर्नुपर्ने उनले बताए।
सांसद साहले बालबालिकामाथि हुने अपराध रोकथाम, न्याय र संरक्षणलाई प्रभावकारी बनाउन ‘गडिमा बाल न्याय तथा संरक्षण ऐन’ तत्काल ल्याउन सरकारसँग माग गरे। प्रतिनिधिसभामार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले बालबालिकाको सुरक्षा र न्याय सुनिश्चित गर्न ठोस कानुनी तथा संस्थागत व्यवस्था गर्न आग्रह गरे।


