वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरलाई सोही ट्र्याक्टरले किच्दा मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका अजय रामका १७ वर्षीय छोरा आकाश राम रहेका छन्।

प्रहरीका अनुसार एक महिने साउने मेला समापन भएपछि मंगलबार बिहान मेलामा थापिएका पसलका सामान लिन जाने क्रममा ट्र्याक्टरबाट खसेका आकाशलाई सोही ट्र्याक्टरले किचेको हो।
ट्र्याक्टरमा चालक र आकाश गरी दुई जना मात्रै सवार थिए। उनीहरू नाताले काका–भतिजा रहेको प्रहरीले जनाएको छ। चारभैया पोस्टबाट करिब दुई किलोमिटरभित्र पुगेपछि आकाश ट्र्याक्टरबाट खसेका थिए। त्यसक्रममा ट्र्याक्टरको चक्कामुनि परी उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

घटना मंगलबार बिहान करिब ७ बजे भएको हो। बाटोमा रगत देखेपछि भाथाधामतर्फ जाँदै गरेका श्रद्धालुले घटनाबारे नेपाली सेनालाई जानकारी गराएका थिए। त्यसपछि मेला व्यवस्थापन समितिका अध्यक्ष अल्खदेव चौधरी घटनास्थलमा पुग्दा किशोर मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा किशोर ट्र्याक्टरबाट खसेपछि चक्काले किचेर मृत्यु भएको देखिएको छ।

घटनापछि ट्र्याक्टर चालक ट्र्याक्टरसहित फरार भएका छन्। प्रहरीले फरार चालक र ट्र्याक्टरको खोजी गरिरहेको जनाएको छ।मृतक किशोरको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


