वीरगञ्ज । मुस्लिम धर्मावलम्बीहरूको पर्व मोहम्मद जयन्तीको अवसरमा भोलि (बुधबार) वीरगञ्ज महानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिइएको छ।

वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन सार्वजनिक बिदा दिने जनाएको हो।
प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखाका अधिकृत विजय कुमार गुप्ताद्वारा हस्ताक्षरित सूचनामा महानगरपालिकाको आदेशबमोजिम विद्यालयमा बिदा दिने निर्णय गरिएको उल्लेख छ।
यता, विद्यालयमा बिदा भए पनि वीरगञ्ज महानगरपालिकाको कार्यालयको दैनिक कामकाज भने नियमित रूपमा सञ्चालन हुने भएको छ।
मधेश प्रदेश सरकारको सूचनाअनुसार महानगरपालिकामा कार्यरत मुस्लिम धर्मावलम्बी कर्मचारीलाई मात्र विशेष बिदा उपलब्ध गराइने कार्यबाहक नगर प्रमुख इम्तियाज आलमको सचिवालयले जनाएको छ।


