सिमरा । रसुवामा आएको विनाशकारी बाढीबाट देश संकटमा परिरहेका बेला बारा सिमराकी समाजसेवी राजी राणाले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन्।

८८ वर्षीया राणाले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत उक्त रकम बराबरको चेक सरकारलाई हस्तान्तरण गरेकी हुन्। विपद्को समयमा व्यक्तिगत तर्फबाट गरिएको यो सहयोग राहत कोषमा प्राप्त ठूला सहयोगमध्ये एक रहेको बताइएको छ।
राणाले आर्थिक सहयोगसँगै बाढी प्रभावितका लागि थप २५ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य जिन्सी सामग्रीसमेत उपलब्ध गराउने भएकी छन्।
पूर्वराजपरिवार निकट राणाले दिवंगत पति प्रभु शमशेर जबराको स्मृतिलाई जीवन्त राख्दै ‘प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी’ मार्फत लामो समयदेखि सामाजिक सेवाका विभिन्न अभियान सञ्चालन गर्दै आएकी छन्।
राणाले यसअघि पनि विपद्, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न उदाहरणीय काम गर्दै आएकी छन्। पछिल्लो सहयोगले बाढी प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।


