वीरगञ्ज । श्रीकृष्ण जन्माष्टमी २०८३ को अवसरमा श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति (रथयात्रा समिति), वीरगञ्जले नगरका विभिन्न विद्यालयमा राधा–कृष्णको रूप धारण गरेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

समितिले जन्माष्टमीको अवसर पारेर वीरगञ्जका १५ वटा विद्यालयमा पुगेर राधा तथा कृष्णको रूप धारण गरेका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरेको हो।
धार्मिक तथा सांस्कृतिक पर्वलाई बालबालिकामाझ सिर्जनात्मक र उत्साहपूर्ण रूपमा मनाउने तथा उनीहरूको सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका सचिव पप्पु गुप्ताले जानकारी दिए।
उनका अनुसार विद्यालयमै पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै जन्माष्टमीमा राधा–कृष्णको रूप धारण गरी सहभागी भएका बालबालिकालाई प्रोत्साहन गरिएको थियो। यस्तो पहलले बालबालिकामा धार्मिक तथा सांस्कृतिक परम्पराप्रति रुचि बढाउन सहयोग पुग्ने समितिको विश्वास छ।
कार्यक्रम श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका उपाध्यक्ष देवानन्द कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समितिका सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल, विजय सर्राफ, सदस्य श्याम गुप्ता, प्रभु साह, मुन्ना साह, दिपु गुप्ता र मुना सर्राफलगायतको सहभागिता रहेको थियो।
समितिले गहवा माई रथयात्रा तथा धार्मिक–सांस्कृतिक गतिविधिसँगै सामाजिक र शैक्षिक क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।जन्माष्टमीको अवसरमा गरिएको यस पहलले विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित बनाउनुका साथै वीरगञ्जको स्थानीय कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।


