काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका प्रमुख तथा साना नदीमा जलसतह उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ। महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सोमबार जारी गरिएको बाढी पूर्वानुमान बुलेटिनअनुसार मनसुनी वर्षाका कारण देशका अधिकांश प्रमुख नदी प्रणालीमा बहाव बढ्ने सम्भावना छ। हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायतका प्रमुख नदी तथा तिनका सहायक नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनमा जलसतह क्रमशः बढ्ने पूर्वानुमान गरिएको छ।
कोशी जलाधारअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी तथा नारायणी जलाधारअन्तर्गत देवघाट, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा आगामी तीन दिन बहाव उल्लेखनीय रूपमा बढ्ने महाशाखाले जनाएको छ।
त्यस्तै कर्णाली जलाधारका चिसापानी, असाराघाट, भेरी र पश्चिम सेती तथा महाकाली र कन्काई नदीमा पनि जलसतह बढ्ने सम्भावना रहेको छ। कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने सामान्य रूपमा बहाव बढ्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, काठमाडौं उपत्यकाका तीनै जिल्ला, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, सुर्खेत, कालिकोट, बझाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ४० भन्दा बढी जिल्लाबाट बहने साना नदी तथा खोलामा सोमबार बहाव उल्लेख्य रूपमा बढ्न सक्नेछ।
भोलि र पर्सिसमेत सातै प्रदेशका कतिपय साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा तथा ढल निकास कमजोर भएका होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले नदी तथा खोलाको बहाव बढ्ने अवस्थामा तटीय क्षेत्रमा नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्नसमेत आग्रह गरेको छ।


