वीरगञ्ज । रसुवामा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रालि, गोकर्णेश्वर, काठमाडौंले संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन्।

नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज परिवारको संयुक्त योगदानस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (बाढी राहत) मा ७५ लाख रुपैयाँ जम्मा गरिएको हो।
विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत, उद्धार र आवश्यक मानवीय सहायता उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको दुवै संस्थाले जनाएका छन्।
स्वास्थ्य सेवामा निरन्तर सक्रिय दुवै संस्थाले विपद्को कठिन परिस्थितिमा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको साथमा उभिएको बताएका छन्। संयुक्त सहयोगले राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
मानवीय सेवाको भावनाबाट गरिएको उक्त सहयोगले विपद्को समयमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य तथा सामाजिक उत्तरदायित्वको भावना थप मजबुत बनाउने विश्वास गरिएको छ।
नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


