रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ९ रामपुर खापमा लामो समयदेखि बन्द रहेको छोटी भन्सार कार्यालय पुन सञ्चालन गर्न माग गर्दै स्थानीयबासीले सुरु गरेको रिले अनसन तथा धर्ना प्रदर्शन शुक्रबार दोस्रो दिन पनि जारी रहेको छ।

नेपाल सिमाना सँघर्ष समितिको अगुवाइमा सुरु भएको आन्दोलनप्रति सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै प्रदर्शनकारीहरूले आक्रोश व्यक्त गरेका छन्।
आन्दोलनमा सहभागी स्थानीयले आफ्नो जायज मागप्रति राज्य उदासीन बनेको भन्दै सरकारलाई अन्धा र बहिरा को संज्ञा दिएका छन्।
के सीमा क्षेत्रमा बसोबास गर्नु देवी-देवताको सराप हो कि हाम्रो बाध्यता राज्यले हाम्रो समस्या किन बुझ्दैन भन्दै एक प्रदर्शनकारीले प्रश्न गरे।
सीमावासीका अनुसार भारतीय सशस्त्र सीमा बल (SSB) ले आवतजावतका क्रममा नेपाली नागरिकलाई दुःख दिने र हेप्ने क्रम बढेको छ। यस विषयमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (BOP) रामपुर खापलाई पटक-पटक जानकारी गराउँदा पनि नेपाली सुरक्षाकर्मीले चासो नदेखाएको उनीहरूको गुनासो छ।
नेपाल सिमाना सँघर्ष समितिले रिले अनसन कार्यक्रम आगामी आइतबारसम्म मात्र सञ्चालन गर्ने र सो अवधिमा पनि माग सम्बोधन नभए सोमबारदेखि अनिश्चितकालीन आमरण अनसन सुरु गर्ने चेतावनी दिएको छ।
रामपुर खाप छोटी भन्सार पुननंसञ्चालन हुने वा पूर्ण रूपमा बन्द हुने भन्ने विषयमा राज्यको आधिकारिक निर्णय नआएसम्म आन्दोलनका कुनै पनि कार्यक्रम स्थगित नगर्ने अडानमा संघर्ष समिति र स्थानीयबासी दृढ छन्।


