काठमाडौं । रौतहटको माधव नारायण नगरपालिकामा कार्यरत सामाजिक परिचालक कृष्ण नन्दन प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार यादव माधव नारायण नगरपालिकामा सहायकस्तर पाँचौँ तहको सामाजिक परिचालक पदमा कार्यरत छन्। उनले तत्कालीन जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक पदमा नियुक्ति लिने क्रममा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने आईए तहको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको पुष्टि भएको आयोगले जनाएको छ।अख्तियारका अनुसार नक्कली प्रमाणपत्रकै आधारमा नियुक्ति लिएपछि यादव हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेका थिए।
आयोगले यादवको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको निष्कर्ष निकालेको छ।सोही आधारमा अख्तियारले यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवाना सजाय हुनुपर्ने मागदाबी गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त मागदाबीसहित असोज ८ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। मुद्दामा अन्तिम निर्णय भने विशेष अदालतको न्यायिक प्रक्रियाबाट हुनेछ।


