Lucky-Khabar_

वीरगञ्जको मेयरमा सम्भावित उम्मेदवारको चर्चा, वर्तमान मेयरदेखि नयाँ अनुहारसम्म

वीरगञ्ज । निर्वाचन आयोगले आगामी फागुन मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेसँगै वीरगञ्ज महानगरपालिकासहित पर्साका स्थानीय तहमा सम्भावित उम्मेदवारबारे राजनीतिक चर्चा सुरु भएको छ।

content ad p2

आगामी स्थानीय तह निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारीका आकांक्षीको संख्या बढ्ने देखिएको छ। विशेषगरी वीरगञ्ज महानगरपालिकाको मेयर पदमा वर्तमान मेयर, पूर्वमेयर, विभिन्न राजनीतिक दलका नेता तथा नयाँ अनुहारको नाम चर्चामा आउन थालेको हो।

वीरगञ्ज महानगरपालिकाका वर्तमान मेयर राजेशमान सिंह पनि पुनः मेयर पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको चर्चा छ। हालै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि सिंह पुनः चुनावी मैदानमा आउने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको हो। विशेष अदालतले भदौ २९ गते सिंहसहित सात जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो।

सिंह यसअघि जनता समाजवादी पार्टी नेपालबाट वीरगञ्जको मेयरमा निर्वाचित भएका थिए। आगामी निर्वाचनमा भने उनी कुन दलबाट उम्मेदवार बन्ने भन्ने स्पष्ट भइसकेको छैन। उनीनिकट राजनीतिक वृत्तमा नेकपा एमालेबाट टिकट पाए एमालेबाटै प्रतिस्पर्धा गर्ने र अन्यथा वैकल्पिक राजनीतिक दलबाट उम्मेदवारी दिन सक्ने चर्चा छ।

त्यस्तै, वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सरावगीको नाम पनि सम्भावित मेयरका रूपमा चर्चामा छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरका उम्मेदवार बनेका सरावगी यसपटक एमाले वा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न सक्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ।

एमालेका पूर्वकेन्द्रीय सदस्य अरविन्द सिंह पनि मेयर पदका आकांक्षीका रूपमा चर्चामा छन्। एमाले नेतृत्वप्रति पछिल्लो समय असन्तुष्टि जनाउँदै आएका सिंह रास्वपाबाट उम्मेदवारीको प्रयासमा रहेको उनीनिकट स्रोतको दाबी छ। रास्वपाबाट टिकट नपाए अन्य दलबाट वा स्वतन्त्र रूपमा उम्मेदवारी दिन सक्ने सम्भावनासमेत रहेको बताइएको छ।

त्यस्तै,रास्वपाका महाधिवेशन प्रतिनिधि युवा नेता सुधिर पटेलको नाम पनि वीरगञ्जको मेयर पदका सम्भावित उम्मेदवारका रूपमा जनमानसको चर्चामा आएको छ। पटेल यसअघि स्वतन्त्र रूपमा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेकाले आगामी निर्वाचनमा रास्वपाबाट मेयरको टिकट पाउने आसा बताइएको छ।

यसैगरी तेज शमशेर जबराको नाम पनि मेयर पदका सम्भावित आकांक्षीका रूपमा चर्चामा आएको छ। उनको राजनीतिक यात्रा र सम्भावित उम्मेदवारीबारे भने आगामी दिनमा दलगत निर्णय तथा निर्वाचन प्रक्रियासँगै थप स्पष्ट हुने देखिएको छ।

नेपाली कांग्रेसबाट विजय सर्राफ र प्रकाश उपाध्यायको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल तथा अग्रगामी मोर्चालगायत दलभित्र पनि सम्भावित उम्मेदवारबारे आन्तरिक छलफल सुरु भएको बताइएको छ। यद्यपि ती दलबाट वीरगञ्जको मेयर पदका आकांक्षीको चर्चा हाल तुलनात्मक रूपमा कम छ।

वीरगञ्जबाहेक पर्साका अन्य स्थानीय तहमा पनि प्रमुख, अध्यक्ष तथा वडाध्यक्ष पदका सम्भावित उम्मेदवारबारे छलफल सुरु भएको बताइएको छ। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पर्साका चारवटै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार निर्वाचित भएकाले आगामी स्थानीय तह निर्वाचनमा पनि उक्त दलबाट उम्मेदवारीका आकांक्षी बढेको चर्चा छ।

हाल वीरगञ्जको मेयरसहित पर्साका स्थानीय तहमा चर्चामा आएका नामहरू प्रारम्भिक राजनीतिक आकलनमै सीमित छन्। दलहरूले औपचारिक रूपमा उम्मेदवार छनोट र टिकट वितरण प्रक्रिया अघि बढाएपछि वीरगञ्जसहित पर्साको स्थानीय तह निर्वाचनको वास्तविक चुनावी तस्वीर थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर