Lucky-Khabar_

कांग्रेस अधिवेशन सुरु नहुँदै मोरङ–६ मा झडप, कार्यवाहक सभापति अस्पताल भर्ना

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन सुरु नहुँदै बुधबार झडप र तोडफोड भएको छ। क्रियाशील सदस्यता विवादलाई लिएर सुन्दरहरैँचामा आयोजित अधिवेशनस्थलमा विवाद चर्किएपछि दुई पक्षबीच कुटपिट भएको हो।

content ad p2

बुधबार मनोनयन गर्ने कार्यसूची रहे पनि अधिवेशन उद्घाटन हुनुअघि नै विवाद भएपछि कार्यक्रम प्रभावित भएको छ।

झडपमा कांग्रेस क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलामाथि समेत हातपात भएको बताइएको छ।

मोरङ–६ मा यसअघि पनि क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन समयमा हुन सकेको थिएन। वडा तहमा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने क्रममा देखिएको विवादकै कारण क्षेत्रीय अधिवेशनस्थलमा तनाव उत्पन्न भएको बताइएको छ।मोरङ–६ डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। कांग्रेसको महाधिवेशन प्रक्रियाबाट कोइराला अलग रहेको अवस्थामा उनको पक्षका कार्यकर्ताले अधिवेशन बिथोल्न खोजेको संस्थापन पक्षको दाबी छ।


यसअघि क्षेत्रीय सभापतिको जिम्मेवारी कोइरालानिकट नेता देवराज तामाङसँग थियो। केन्द्रीय नेतृत्वलाई असहयोग गरेको भन्दै अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको कांग्रेस नेताहरूले बताएका छन्।

तर अधिवेशनस्थलमा रहेका तामाङले आफू निकट कार्यकर्ताले तोडफोड गरेको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार क्रियाशील सदस्यता विवादका कारण असन्तुष्ट वडाका प्रतिनिधिबीच विवाद भएको हो।‘यहाँ क्रियाशील सदस्यता विवाद थियो, त्यही विवादमा असन्तुष्ट वडाका प्रतिनिधिले विवाद गरेका हुन्,’ तामाङले भने। आफू निकट कार्यकर्ताले आक्रमण गरेको दाबी प्रमाणित गर्नुपर्ने उनको भनाइ छ।

प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै गएपछि कांग्रेस नेता तथा कार्यकर्ताबीच हातपात भएको थियो भने अधिवेशनस्थलमा तोडफोडसमेत भएको थियो।घटनापछि विकसित परिस्थितिलाई साम्य पार्दै विवाद समाधानको प्रयास भइरहेको कांग्रेस नेता रमेशजंग रायमाझीले बताएका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर