काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखानासहित विद्युत् खपत बढाउने आयोजनालाई सरकारले आवश्यक सहुलियत दिने तयारी गरेको जानकारी दिएका हुन्।छलफलमा सहभागी रास्वपाका सांसद डा. राम लामाका अनुसार सरकारले मल कारखाना स्थापनाका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री शाहले बताएका थिए।
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा मल कारखाना स्थापना गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। त्यसका लागि आवश्यक नीतिगत, कानुनी तथा भन्सारसम्बन्धी व्यवस्था सुधार गर्ने सरकारको तयारी छ।विगतका सरकारले बजेटमार्फत मल कारखाना स्थापनाका लागि रकम विनियोजन गरे पनि नेपालमा अहिलेसम्म यस्तो कारखाना स्थापना हुन सकेको छैन। प्रधानमन्त्री शाहले भने यसलाई सरकारको प्राथमिकतामा राखिएको बताएका छन्।
करिब साढे दुई घण्टा चलेको छलफलमा १७ जना सांसद सहभागी थिए। सांसदहरूले हालैको बाढीपहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। त्यसपछि शाहले संसद्मा उठ्ने विषय, सांसदको भूमिका र सरकारसँगको समन्वयबारे धारणा राख्दै मुलुकको औद्योगिकीकरणका लागि ठोस सुझाव दिन आग्रह गरेका थिए।
नयाँ योजना तथा नीतिसम्बन्धी प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग प्रधानमन्त्री कार्यालयले सहज रूपमा समन्वय गर्ने आश्वासनसमेत उनले दिएका थिए।विद्युत् उत्पादनसँगै आन्तरिक खपत बढाउने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताएका छन्।


