मुम्बई ।भारतीय अभिनेता नाना पाटेकरको पोस्टमार्टम रिपोर्टमा हृदयाघातका कारण मृत्यु भएको उल्लेख गरिएको छ। गोवा मेडिकल कलेज एन्ड हस्पिटल (जीएमसीएच) का एक वरिष्ठ चिकित्सकले आइतबार समाचार एजेन्सी पीटीआईलाई उक्त जानकारी दिएका हुन्।

चिकित्सकका अनुसार मुटुको मुख्य धमनी (लेफ्ट मेन कोरोनरी आर्टरी) मा रगत जम्दा गम्भीर हृदयाघात भएको थियो। पोस्टमार्टम रिपोर्टमा एथेरोस्क्लेरोटिक कोरोनरी आर्टरी डिजिजका कारण मुटुको मुख्य धमनीमा अवरोध उत्पन्न भई मृत्यु भएको उल्लेख छ। रिपोर्टले उनको मृत्यु प्राकृतिक कारणले भएको निष्कर्ष निकालेको छ।
निधनअघि साथीलाई पठाएका थिए म्यासेज
प्रहरी अनुसन्धानअनुसार नाना पाटेकरले निधन हुनुभन्दा केही घण्टाअघि आफ्ना निकट साथी अमेय नाइकलाई ह्वाट्सएपमा म्यासेज पठाएका थिए। अक्टोबर ८ को बिहान करिब २ः३० बजे उनले आफ्नो स्वास्थ्य अवस्था ठीक नभएको जानकारी गराउँदै म्यासेज पठाउनुका साथै फोनसमेत गरेका थिए।
प्रहरीका अनुसार अमेयले बिहान करिब ३ः३० बजे म्यासेज देखेपछि तत्काल डोना पावलास्थित नाना पाटेकरको घर पुगेका थिए। त्यहाँ उनले नानालाई सोफामा बेहोस अवस्थामा फेला पारेका थिए।
त्यसपछि सुरक्षा गार्डको सहयोगमा अस्पतालको आपत्कालीन सेवामा सम्पर्क गरिएको थियो। नाना पाटेकरलाई मणिपाल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
भवितव्य मृत्युको मुद्दा दर्ता
निधनको कारण पत्ता लगाउन अक्टोबर ८ मा गोवाको बाम्बोलीस्थित गोवा मेडिकल कलेजमा पोस्टमार्टम गरिएको थियो। घटनापछि पणजी प्रहरीले भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस), २०२३ को धारा १९४ अन्तर्गत भवितव्य मृत्युको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।
गोवाबाट नाना पाटेकरको पार्थिव शरीर पुणे ल्याइएको थियो। त्यहाँ डोन्जे गाउँमा राजकीय सम्मानका साथ उनको अन्तिम संस्कार गरिएको थियो।




