काठमाडौं। काठमाडौंको बालाजुस्थित माछापोखरी चोकमा सामान्य विवादका क्रममा भएको कुटपिटमा परी एक २० वर्षीय युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुमा बस्दै आएका २० वर्षीय सुवाश तामाङ रहेका छन्।

प्रहरीका अनुसार तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खुमा बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकारबीच माछापोखरी चोकमा सामान्य विषयलाई लिएर विवाद भएको थियो। विवादले उग्र रूप लिएपछि दुवैबीच कुटपिट भएको बताइएको छ।कुटपिटका क्रममा तामाङ सडकमा लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा दिउँसो १ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा ताम्राकारलाई नियन्त्रणमा लिएको छ।पक्राउ परेका ताम्राकारमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


