वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२५, सिर्सियाबाट ब्राउनसुगरजस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको मोतिहारी, डंकन रोड–७, मिश्र कोलोनी निवासी करिब २८ वर्षीय रितेश कुमार रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार २०८३ कात्तिक १ गते बोर्डर आउट पोस्ट (बीओपी) ड्राइपोर्टबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा कुमारलाई पक्राउ गरेको हो।
जाँचका क्रममा उनको साथबाट ५ ग्राम ६९ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद पदार्थ र मोटरसाइकलसहित कुमारलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सोही दिन राति ११ बजे इलाका प्रहरी कार्यालय छपकैयामा बुझाएको जनाएको छ।घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया नेपाल प्रहरीले अघि बढाउनेछ। घटनासम्बन्धी जानकारी सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले दिएका हुन्।


