२१ चैत,वीरगञ्ज । रौतहट प्रहरीले जारी एस.ई.ई परीक्षामा चिट चोराउनमा मद्दत गर्ने प्रधानाध्यापकसहित सरकारी कर्मचारीहरुनै

ह्वाट्सप ग्रुपमार्फत प्रश्नपत्रहरुको उत्तर लेखेर सामाजिक सञ्जालमार्फत अदानप्रदान गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सामाजिक सञ्जालमार्फत सबै प्रश्नहरुको उत्तर लेखेर बनाइएको ह्वाट्सप ग्रुपमार्फत आदानप्रदान गर्ने एक जना प्रधानाध्यापक र ४ जना परीक्षा निरीक्षक र अर्का एकजना गरी जम्मा ६ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् ।
उनका अनुसार परीक्षामा विद्यालयका उच्च तहका कर्मचारीहरु नै चिट गराउन सक्रिय रहेको प्राप्त सूचना बमोजिम अनुसन्धान चलाउँदा सबै जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा श्री मावि पथराका प्रधानाध्यापक रौतहट राजदेवी नगरपालिका वडा नम्बर १ का उतिचन्द्र यादव, श्री सरस्वती मावि पिपिरा परीक्षा केन्द्रका परीक्षा निरीक्षक गढीमाई–७ का ललन राय यादव, श्री नि पथरा बुधरामका परीक्षा निरिक्षक राम अमोद प्रसाद यादव, श्री शंकर मावि सरमुज्वाका परीक्षा निरीक्षक अबधलाल राम र २५ वर्षका राकेश कुमार यादव रहेका छन् ।
त्यस्तै अनाधिकृत रुपमा परीक्षा केन्द्रमा प्रवेश गराई परीक्षाको मर्यादा भंग गरेको आरोपमा राजपुर नगरपालिका–१ बस्ने ३१ वर्षका राम सोगारथ साहलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीमाथि श्री सरस्वती मावि पिपरा परीक्षा केन्द्रमा अनुमति बिना प्रवेश गरेको आरोप छ ।
पक्राउ परेकाहरुमाथि शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (क) अन्र्तगतको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी गराएको छ ।


