१७ असार, काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

त्यसतै२६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ ।
रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् ।
अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् ।
यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रेड अलर्ट जारी भएको छ ।
गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्लामा रेड अलर्ट जारी भएको छ ।
लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टको सूचीमा परेका छन् ।
बिगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको विभागको भनाइ छ । यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असार १७ गतेदेखि २० गतेसम्म रेड र यलो अलर्ट जारी भएका जिल्लाहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।
शहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम रहेको र ठूला तथा साना नदीनाला एवम् खोलाहरुमा पानीको सतह बढ्ने सम्भावना समेत रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमानको कारणले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

वर्षा र बाढीबाट दैनिक जनजीवन लगायत अन्य कार्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सबैलाई अनुरोध गरेका छन् ।


