३०भाद्र,बिरगंज। नारायणी अस्पताल बिरगंजमा बन्द रहेको एमआरआई सेवा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर एनामुल हकले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशनअनुसार पुनः सुचारु गरेका हुन्।

आजदेखि अस्पतालमा एमआरआई सेवा सुरु भएपछि बिरामीहरूले निकै राहत महसुस गरेका छन्। सफ्टवेयर अपडेटको समस्या समाधान भएसँगै सेवा पुनः सुरु गरिएको हो भनि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर हकले जानकारी दिए ।

नारायणी अस्पतालमा एमआरआई सेवा बन्द भएपछि बिरामीहरू निजी अस्पतालमा दोब्बर शुल्क तिरेर सेवा लिन बाध्य भएका थिए। नारायणी अस्पतालमा एमआरआईको शुल्क ८ हजार रुपैयाँ भए पनि निजी अस्पतालमा बिरामीले १५ देखि १६ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको थियो।
स्वास्थ्य सेवा विभागले ३० करोड रुपैयाँमा चीनबाट खरिद गरेको थ्रीटेस्लाको एमआरआई मेशिन गत कार्तिक महिनादेखि नारायणी अस्पतालमा सञ्चालनमा ल्याइएको थियो। तर, अस्पतालले आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिलाई बाँकी २० प्रतिशत रकम भुक्तानी नगरेपछि, चिनीया कम्पनीले सफ्टवेयर अपडेट नगरेको कारणले मेशिन गत वैशाखदेखि बन्द भएको थियो।

आपूर्तिकर्ता कम्पनीले नेपाल सरकारलाई ५ प्रतिशत कर बुझाएपछि बाँकी रकम भुक्तानी गरिएको र मेशिनको सफ्टवेयर अपडेट गरिसकेपछि सेवा पुनः सञ्चालनमा आएको डाक्टर हकले जानकारी दिए।
एमआरआई सेवा सुचारु भएसँगै अब बिरामीहरूले सस्तो शुल्कमा गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन्, जसले आर्थिक रूपमा पनि बिरामीहरूलाई सहयोग पुर्याउने विश्वास लिइएको छ।



