८मन्सिर्, वीरगञ्ज । श्री सत्य साई केन्द्र वीरगञ्ज र श्री सत्य साई केन्द्र प्रदेश समिति २ को संयुक्त आयोजनामा श्री सत्य साई बाबाको ९९ औं जन्मोत्सव वीरगञ्जमा शोभा यात्रा र विविध धार्मिक कार्यक्रमको आयोजना गरि जन्मोत्सव मनाइएको हो ।

शोभा यात्रा वीरगञ्जको भगवती टोलस्थित श्री सत्य साई केन्द्र मन्दिरबाट सुरु भई गीता मन्दिर, माइस्थान गहवा माता मन्दिर, मेन रोड, अलखिया मठ हुँदै काली मन्दिरको परिक्रमा गरी पुनः मन्दिरमै पुगेर समापन भएको थियो । शोभा यात्रामा भक्तजन र श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

श्री सत्य साई केन्द्र प्रदेश समिति २ का अध्यक्ष जीवनप्रसाद चौरसियाका अनुसार कार्यक्रमको दोस्रो चरणमा आज दिउँसो १२ बजे प्रसाद वितरण र नारायण सेवा आयोजना गरिएको छ । उनले वीरगञ्जका सबै भक्तजन र श्रद्धालुहरूलाई प्रसाद ग्रहण र नारायण सेवामा सहभागी हुन आग्रह गरेका छन् ।

सो अवसरमा पूजा, सत्संग, भजन, र कीर्तनजस्ता धार्मिक गतिविधिहरू समेत सम्पन्न भए । श्री सत्य साई बाबाको जन्मोत्सवलाई भक्तजन र श्रद्धालुहरूका लागि विशेष रूपमा समर्पित गरिएको बताउँदै कार्यक्रमलाई सफल बनाउन सबैलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।
कार्यक्रममा श्री सत्य साई केन्द्र वीरगञ्जकी अध्यक्ष शारदा देवी मानन्धर, प्रदेश समिति २ का उपाध्यक्ष सम्भु सवर्णकार, श्री सत्य साई सेवा ट्रस्टका सदस्य अशोक राज ठाकुर, अभिलाष गुप्ता, राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।


