१७पुष, वीरगञ्ज ।मन्त्री क्षेत्रीले कृषि औजार कारखाना बीरगंजको अनुगमन गर्दै उत्पादनहरू कृषकसम्म पुर्याउँछौँ बताए |

बुधवार मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले प्रदेश सरकारले उत्पादन भएका उपकरणहरू खरिद गरेर किसानलाई अनुदानमा उपलब्ध गराउने योजना अघि बढाउने जानकारी दिएका छन् ।
कारखानाको स्थलगत निरीक्षणपछि केन्द्रका प्राविधिकहरूसँग कुराकानी गर्दै मन्त्री क्षेत्रीले आधुनिक उपकरण र यन्त्रहरू किसानका बिचमा लगेर प्रदर्शन गर्न आग्रह गरे । “किसानबाट सकारात्मक प्रतिक्रिया आएमा कृषि मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउँछ । किसानलाई अनुदान र सहुलियतमा यन्त्र र उपकरण उपलब्ध गराउन मन्त्रालय तयार छ ।”मन्त्रि क्षेत्रीले बताए |

कारखाना २० वर्षभन्दा लामो समयदेखि बन्द अवस्थामै थियो । सङ्घीय सरकारले २०७९ असोजमा सञ्चालन तथा व्यवस्थापनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई सुम्पिएको थियो । २०७९ माघमा केन्द्रले मर्मत सम्भारको काम प्रारम्भ गरी हाल विभिन्न आधुनिक कृषि उपकरणहरूको उत्पादन सुरु गरेको छ ।
कारखानाले धान रोप्ने र काट्ने मेसिन, आलु रोप्ने र गोड्ने मेसिन, गोबर सुकाउने मेसिन, घाँस काट्ने कटर, केराको थामबाट फाइबर निकाल्ने मेसिन, पुस दाना बनाउने मेसिन, कोदो रोप्ने र काट्ने मेसिन लगायत करिब डेढ दर्जन प्रकारका कृषि उपकरण उत्पादन गरिरहेको छ । साथै, परम्परागत औजारहरूसमेत जस्तै कुटो, कोदालो, बन्चरो, हँसिया, बेल्चा र कल्टिभेटरको उत्पादन जारी रहेको छ ।
अवलोकनका क्रममा मन्त्री क्षेत्रीले भने, “प्रदेश सरकारले चालु आर्थिक वर्षमा कारखानाको लागि विनियोजन गरेको ५० लाख रुपैयाँ छिट्टै प्रक्रिया पूरा गरी उपलब्ध गराउने छ । यसलाई कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाइनेछ ।”
कारखाना पुनः सञ्चालन गर्न र उत्पादनको दायरा विस्तार गर्न प्रदेश सरकार पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । साथै, उनले किसानलाई प्रभावकारी उपकरण पुर्याउनका लागि सम्भाव्यता अध्ययनको महत्त्वसमेत उनले औँल्याए ।
कारखानाका प्राविधिक टोलीको नेतृत्व गरेका इन्जिनियर रितेश देवले मन्त्रीलाई हाल उत्पादन भइरहेका उपकरण र अनुसन्धानको प्रगतिबारे जानकारी दिए । साथै, उनले उत्पादनलाई निरन्तरता दिन बजेटको समयमै उपलब्धता हुनुपर्ने माग गर्दै मन्त्रीलाई लिखित रूपमा ज्ञापन पत्रसमेत बुझाएका थिए ।
कारखाना निरीक्षण कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्याय, नेवि सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने, स्थानीय नेतागण तथा व्यवसायीहरूको उपस्थिति थियो । सहभागीहरूले पनि आधुनिक कृषि उपकरणको उत्पादनमा केन्द्रले गरेको प्रयासको सराहना गरे ।


