२८ माघ,वीरगञ्ज । पर्सा प्रहरीले झन्डै १६ वर्षदेखि फरार सवारी ज्यान मुद्दामा दुई आरोपित वीरगञ्जबाट पक्राउ पक्राउ गरेको छ ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट फरार रहेका आरोपितहरू छठु साह तेली र चन्दु राउत कुर्मीलाई झन्डै १६ वर्षपछि पक्राउ गरेको हो ।
२०६४ सालको जनवरी १४ गते छठु साह तेलीद्वारा चलाइएका ना. १ ह ९०७ नम्बरको ट्याम्पोले राजेन्द्र साह सोनारलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । दुर्घटनापछि छठु साह तेली घटनास्थलबाट फरार भएका थिए ।
प्रहरीको विशेष टोलीले उनलाई माघ २७ गतेका दिन वीरगञ्ज महानगरपालिका – १७ बाट पक्राउ गरेको छ । अहिले उनलाई सवारी ज्यानको आरोपमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।
त्यस्तै अर्को घटनामा, २०६४ सालको कार्तिक ३ गते चन्दु राउत कुर्मी द्वारा चलाइएका ना. ३ प ९७१८ नम्बरको मोटरसाइकलले होरिल राउत कुर्मीको ज्यान लिएको थियो । दुर्घटनापछि चन्दु राउत कुर्मी पनि फरार भएका थिए ।
उनलाई प्रहरीले माघ २८ गते वीरगञ्ज महानगरपालिका – २५ बाट पक्राउ गरेको डिएसपी लम्सालले बताए । चन्दु राउतलाई पनि सवारी ज्यानको आरोपमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।



