१० चैत,वीरगञ्ज ।वीरगञ्जको मुख्य सडकको दायाँबायाँ २५–२५ मिटर क्षेत्रको अतिक्रमण हटाउने बारे सीमाङ्कनकोको काम सुरु गर्न नापी कार्यालयलाई सडक डिभिजनको निर्देशन गरेको छ | नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको सडक डिभिजन हेटौँडाले वीरगञ्ज महानगरपालिकाको त्रिभुवन राजपथको सडक सीमाङ्कन गर्न पहल थालेको छ ।

सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले नापी कार्यालय पर्सालाई एक पत्र लेख्दै सडक सीमाङ्कनको कार्यमा सहयोग गर्न अनुरोध गरेका हुन् ।
प्रस्तावित सडक सीमाङ्कन वीरगञ्ज महानगरपालिकाअन्तर्गत पर्ने त्रिभुवन राजपथको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, बिर्ता, रजत जयन्ती चोक हुँदै तेरी पुलसम्मको क्षेत्रमा गरिनेछ ।
सडक डिभिजन हेटौँडाले नापी कार्यालयलाई लेखेको पत्रमा सडक सीमाङ्कनको कार्यलाई तीव्रता दिई सडक सम्पत्तिको संरक्षणमा सहयोग पुर्याउन आग्रह समेत गरेको छ ।
डिभिजन प्रमुख अधिकारीले सडकको अतिक्रमण रोक्न, व्यवस्थित सहरीकरणमा सहयोग गर्न र दीर्घकालीन यातायात सुविधा सुनिश्चित गर्न सडक विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

पत्रमा विभिन्न सरकारी निकायलाई बोधार्थ राखिएको छ । सडक विभाग बबरमहल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका र वीरगञ्ज-पथलैया सडक योजनालाई जानकारी गराउँदै आवश्यक समन्वय र सहयोगको लागि अनुरोध गरिएको छ ।
साथै, सडक डिभिजन हेटौँडाका इन्जिनियर रञ्जित साहलाई समन्वय गरी कार्य अगाडि बढाउन निर्देशन दिइएको छ ।




