४ बैसाख्, वीरगञ्ज । इस्लामी सङ्घ नेपालले वीरगञ्जमा हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको साम्प्रदायिक झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दैबिहीबार नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ ।

वीरगञ्जको घटनालाई सङ्गठित अपराधको संज्ञा दिँदै दोषीमाथि कडा कानुनी कारबाही र मुस्लिम समुदायको सुरक्षाको प्रत्याभूति गर्न जोडदार माग संघका नजरुल हसन फलाहीको नेतृत्वमा गएको टोलीले गरेको छ ।

ज्ञापन पत्रमा वीरगञ्जमा शनिवार भएको झडपलाई मुस्लिम समुदायमाथिको योजनाबद्ध आक्रमणको रूपमा चित्रण गरिएको छ । सङ्घले नेपालमा मुस्लिम समुदायको गौरवमय इतिहास र देशप्रति सयौँ वर्षदेखिको निष्ठालाई उल्लेख गर्दै केही असामाजिक तत्त्वहरूले समुदायको शान्तिकामी छविलाई धमिल्याउने प्रयास गरेको आरोप लगाएको छ ।

“मुस्लिम समुदाय जातीय र धार्मिक हिसाबले अल्पसङ्ख्यक भए पनि हाम्रो देशप्रतिको प्रेम र सामाजिक सद्भावप्रतिको प्रतिबद्धता ऐतिहासिक सहकार्यले प्रमाणित गर्छ । तर, वीरगञ्जको घटना, गत वर्ष सर्लाही र नेपालञ्जमा भएका आक्रमणहरूजस्तै, हाम्रो समुदायलाई लक्षित गर्ने कुप्रयासको हिस्सा हो,” ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रअनुसार, हनुमान जयन्तीको शोभा यात्राका लागि विगतमा प्रयोग नभएको मुस्लिम बाहुल्य क्षेत्रको रुट यस पटक छनोट गरिएको थियो । केही अतिवादी युवाहरूले हतियार प्रदर्शन गर्दै मुस्लिम बस्तीमा आतङ्क मच्चाउने प्रयास गरेको र यसको पुष्टि एक दिनअघिको व्हाट्सएप ग्रुपको अडियो र सामाजिक सञ्जालमा उपलब्ध भिडियोहरूले गर्ने सङ्घको भनाइ छ ।
सङ्घले वीरगञ्जको घटनालाई सङ्गठित र योजनाबद्ध भएको दाबी गरेको छ । “प्रत्यक्षदर्शीहरूले मुस्लिम समुदायले रक्षात्मक रूपमा ढुङ्गा फ्याँकेको बताएका छन्, जुन भिडियोहरूमा पनि प्रस्ट छ । तर, प्रहरी प्रशासन मूकदर्शक बन्यो र तोडफोड, कुटपिट, गालीगलौज र धम्कीजस्ता अराजक गतिविधिलाई रोक्न असफल भयो,” ज्ञापन पत्रमा उल्लेख छ ।

सङ्घले प्रहरी प्रशासनको निष्क्रियताले स्थिति बिग्रनमा ठूलो भूमिका खेलेको ठहर गरेको छ । “प्रहरीको सामुन्ने यस्ता गतिविधि हुँदा पनि कारबाही नहुनुले मुस्लिम समुदायमा त्रास फैलिएको छ । खासगरी तराई–मधेसमा बसोबास गर्ने मुस्लिम समुदाय त्रसित छ । यसले लोकतन्त्रको अवमूल्यन, मानवअधिकार र संविधानप्रदत्त मौलिक हकको हनन भएको छ,” सङ्घले भनेको छ ।
ज्ञापन पत्रमा वीरगञ्जको घटनामा युवाहरूको प्रयोग भएकोप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ । “कलिला उमेरका युवाहरूलाई यस्ता गतिविधिमा उक्साउनु देशका भविष्यका कर्णधारहरूलाई गलत दिशामा लैजानु हो । यस्तो प्रशिक्षण र गतिविधिले देशमा शान्ति र सुव्यवस्थालाई चुनौती दिन्छ । गृह प्रशासनको सामुन्ने यस्ता घटना हुनुले आम नेपालीको मनमा प्रश्न उठाएको छ,” सङ्घले भनेको छ ।
सङ्घले तथाकथित ‘सम्राट् सेना’ जस्ता सङ्गठनहरूको साम्प्रदायिक गतिविधिप्रति पनि आपत्ति जनाएको छ । “नेपाली सेना हुँदाहुँदै यस्ता गैर कानुनी समूहहरूको गतिविधि बढ्नुले नेपालको सुरक्षा संयन्त्रलाई चुनौती दिएको छ । यदि यस्ता गतिविधिलाई समयमै रोक्न सकिएन भने देशमा समानान्तर शक्तिको उदय हुने खतरा छ,” ज्ञापन पत्रमा चेतावनी दिइएको छ ।
इस्लामी सङ्घ नेपालले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ । “यस्ता अपराधीलाई बारम्बार छुट दिइयो भने देशमा अराजकता, हिंसा र अशान्ति फैलिनेछ । हामी नागरिक सुरक्षाको प्रत्याभूति, लक्षित समुदायमाथिको बारम्बारको आक्रमण र समुदायको छवि धमिल्याउने षड्यन्त्रको समयमै उपचार गर्न माग गर्छौँ,” सङ्घले भनेको छ । साथै, दीर्घकालीन शान्तिका लागि तात्कालिक उपायमा मात्र सीमित नरही अपराधीलाई कडाइका साथ कारबाही गर्न जोड दिइएको छ ।
गृहमन्त्री रमेश लेखकले ज्ञापन पत्र बुझ्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको आश्वासन दिएका छन् । उनले सामाजिक सद्भाव कायम राख्न सबै समुदायलाई संयमित रहन अपिल गर्दै सरकारले नागरिक सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।



