१७ जेठ,जनकपुर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शनिबार जनकपुरधाममा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै देशमा बढ्दो बेथिति, ब्रह्मलुट, विभेद र दलाल दलतन्त्रका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको गम्भीर आरोप लगाएका छन्।

‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ विषयक उनले वर्तमान अवस्थामा मुलुकलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेका हुन्।

साहले हालै सरकारले ल्याएको बजेटलाई जनताको चाहना र आवश्यकता विपरित रहेको भन्दै कडा आलोचना गरे। “बजेटले मधेश र कर्णाली जस्ता मानव विकास सूचकांकमा पछाडि परेका प्रदेशहरूलाई विभेद गरेको छ,” उनले भने, “बढ्दो वैदेशिक ऋण, धरासायी हुँदै गएको व्यापार व्यवसाय, र नेपालको पूँजी विदेश लैजाने बाटो खोल्नु अर्थतन्त्रलाई डुबाउने काम हो।”

साहले सीमावर्ती क्षेत्रहरूमा नेपाली जनताको निजी सम्पत्ति लुटपाट भइरहेको र नक्कली भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको गम्भीर दाबीसमेत गरे। उनले सरकार र सत्तारुढ गठबन्धनलाई लुटेराको संरक्षक भएको आरोप लगाए।
कार्यक्रम आजपा मधेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आजपाका नेताहरू रीता देवी साह, अशोक लामा, बिल्टू यादव, श्रीचन मुखिया, राधेश्याम साहलगायतको सहभागिता रहेको थियो।
आजपाले दलतन्त्रको भण्डाफोर गर्दै वैकल्पिक राजनीतिक धारा निर्माण गर्ने अभियान सुरु गरेको उनले जनाएको छ।


