अभिलाष गुप्ता
२४ जेठ|बारा|कलैया फुटबल क्लबको आयोजनामा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिता २०८२ जेठ २७ गतेदेखि असार ३ गतेसम्म बाराको सदरमुकाम कलैयामा आयोजित हुने भएको छ। प्रतियोगिता कलैया नगरपालिका–१ स्थित सिद्धेश्वर खेल परिसरमा आयोजना हुनेछ।

शनिबार कलैया फुटबल क्लबको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको हो। क्लबका अध्यक्ष अजयकुमार साहका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीहरूको सहभागिता रहनेछ। सहभागी टोलिहरूमा कलैया फुटबल क्लब रातो, कलैया फुटबल क्लब निलो, कर्जन्हा भेट्रान (सिरहा), कमलडाँडा एफसी (हेटौंडा), एनएफसी (निजगढ), आरम्भ भेट्रान (वीरगञ्ज), वीरगञ्ज सिटी क्लब (वीरगञ्ज) र पटना सिटी भेट्रान क्लब (भारत) रहेका छन्।

प्रतियोगितामा प्रथम हुने टोलिले ५१,००० रुपैयाँ र द्वितीय हुने टोलिले २५,५०१ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ चयन गरिनेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, टप स्कोरर, बेस्ट कोच र म्यान अफ द सिरिज पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कुल लागत १२ लाख ४५ हजार ५०१ रुपैयाँ अनुमान गरिएको प्रतियोगिता सफल बनाउन क्लबले व्यापक तयारी गरिरहेको जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा खेलकुद विकास तथा संरक्षण समिति कलैयाका अध्यक्ष अनिल पाण्डे, रमेश साह कानु, रियाजुल इस्लाम, सन्दीपकुमार गुप्ता, अजय सर्राफ, विनोद तुलाधार, प्रमोद गिरी, दिपलाल साहसहित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


