Lucky-Khabar_

गोली प्रहारबाट सर्लाहीमा एकको मृत्यु, मोटरसाइकल दुर्घटनामा गोली चलाउने घाइते

३१साउन, वीरगञ्ज । गोली प्रहारबाट सर्लाहीमा एकको मृत्यु, मोटरसाइकल दुर्घटनामा गोली चलाउने घाइते भयो | सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–६ मा शुक्रवार साँझ भएको गोली प्रहारको घटनामा ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ ।प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरूले उनको टाउकोमा गोली प्रहार गरी हत्या गरेको छ ।

गोली प्रहार गर्ने भाग्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेका अपराधीहरूमध्ये एक जना घाइते भएर प्रहरी नियन्त्रणमा छन् भने अर्का फरार रहेका छन् ।
शुक्रवार साँझ हरिपुर्वा–६ का स्थानीय रामपुकार राय यादव आफ्नो घरको आँगनमा छरछिमेकीसँग गफ गरिरहेका थिए । सोही समयमा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिहरूले “रामपुकार भनेको को हो?” भनी सोधे । प्रत्यक्षदर्शीका अनुसार प्रश्न सोध्ने व्यक्तिहरूले सोधपुछ गरेको केही क्षणमै पेस्तोल निकालेर यादवको टाउकोमा नजिकैबाट गोली प्रहार गरेका थिए भनि सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिएको छ।

content ad p2

गोली प्रहारपछि भाग्ने क्रममा आक्रमणकारीहरू हरिपुर्वा नगरपालिकाकै वसन्तपुर क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परेका थिए । डिएसपी राईका अनुसार दुर्घटनामा एक जना घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर जनकपुरस्थित अस्पतालमा उपचारका लागि भर्ना गरेको छ । अर्का व्यक्ति भने घटनास्थलबाट फरार भएका छन् । “फरार व्यक्तिको खोजी कार्य तीव्र रूपमा भइरहेको छ, र घटनामा संलग्नहरूको पहिचान भइसकेको छ,” डिएसपी राईले भने । उनले अनुसन्धान जारी रहेकाले घाइतेको नाम र मोटरसाइकलको नम्बर हाल खुलाउन नमिल्ने बताए ।

मृतक रामपुकार राय यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवास्थित एक निजी विद्यालयमा शिक्षकको रूपमा कार्यरत थिए । पछिल्लो समय उनी खेतीपातीमा संलग्न थिए । स्थानीयका अनुसार यादवले गाउँमा केही रकम ऋण लगानी पनि गरेका थिए । तसर्थ, घटनाको पृष्ठभूमिमा व्यक्तिगत रिसीइबी वा आर्थिक लेनदेनको विषय जोडिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, प्रहरीले घटनाको कारणबारे आधिकारिक जानकारी दिएको छैन ।

घटनाले हरिपुर्वा र आसपासका क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूले दिनदहाडै योजनाबद्ध रूपमा गोली प्रहार गरेको देखिन्छ । स्थानीय एक व्यक्तिले भने, “रामपुकार दाइ हाँसखेल गर्दै गफ गरिरहनुभएको थियो, अचानक मोटरसाइकलमा आएका दुई जनाले सोधपुछ गरेरै गोली हाने । यस्तो घटना हाम्रो गाउँमा पहिलो पटक भएको छ ।”

प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको जनाएको छ । डिएसपी राईले आक्रमणकारीहरूको पहिचान भइसकेको र फरार व्यक्तिलाई चाँडै पक्राउ गरिने दाबी गरे । साथै, उनले घटनाको पछाडिको कारण र अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए । “हामीले घटनास्थलको निरीक्षण गरिसकेका छौँ, र आवश्यक प्रमाणहरू सङ्कलन गरिरहेका छौँ,” उनले थपे ।

प्रहरीले घटनाको पूर्ण विवरण र आक्रमणको कारणबारे थप जानकारी प्राप्त भएपछि सार्वजनिक गर्ने जनाएको छ । घटनाले सर्लाहीमा सुरक्षा व्यवस्थालाई थप कडा बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर