राम आर्य
बिरगंज।बुवाको साटो परीक्षा दिँदै गरेका वीरगञ्जमा कांग्रेस नेताका छोरा पक्राउ रेको छ| वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका कांग्रेस नेताका छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा, २५ वर्षीय महमद अफताब रहेका छन्।

क्याम्पसमा मानविकी संकाय, राजनीति शास्त्र स्नातकोत्तर तह (एन्) तेस्रो सेमेस्टरको परीक्षा चलिरहेका बेला अफताबले आफ्ना बुवाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी महमद साहबुद्धिनको साटोमा अफताब परीक्षा दिइरहेको सूचना पाएपछि तत्काल अनुगमन टोली खटाइएको थियो।

प्रमुख यादवले “जाँच गर्दा परीक्षार्थी साहबुद्धिनको स्थानमा उनका छोरा अफताब भएको पुष्टि भएपछि उनलाई परीक्षा हलमै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो” बताए।

क्याम्पस प्रशासनका अनुसार, त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) बमोजिम अफताब र उनका पिता दुबैविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।पक्राउ परेका अफताबलाई हाल वडा प्रहरी कार्यालय बिरतामा राखिएको छ। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए अनुसार, “क्याम्पस प्रशासनबाट पक्राउ गरेर बुझाइएको युवकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।”


