काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरूङले राजनीतिक दलहरूलाई आन्दोलनभित्र घुसपैठ र फुटाउने षड्यन्त्र नगर्न कडा चेतावनी दिएका छन्।

मंगलबार राजधानीमा पत्रकारहरूसँग कुरा गर्दै उनले आन्दोलनको उद्देश्य सत्तासंघर्ष नभई व्यवस्थागत सुधार र नयाँ पुस्ताको भविष्य सुरक्षित गर्नेसँग सम्बन्धित रहेको बताए। “हाम्रो आन्दोलन कुनै दलको विरोध वा समर्थनका लागि होइन,” गुरूङले भने, “राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि यस आन्दोलनलाई कमजोर पार्ने प्रयास गरे जनताले त्यसको जवाफ सडकमै दिनेछन्।”

गुरूङले पछिल्ला दिनमा विभिन्न दलका कार्यकर्ताहरू आन्दोलनमा प्रवेश गरेर भ्रम फैलाउने र आन्तरिक विभाजन ल्याउने प्रयास गरिरहेको आरोप लगाए। उनले भने, “दलहरू बीचको सत्ता खेलमा हामीलाई तान्ने प्रयास भइरहेको छ, तर यो पुस्ता सजग छ—कसैले पनि आन्दोलन फुटाउन सक्दैन।”

उनले युवाहरूलाई संयमित रहन, असत्य प्रचारमा नफस्न र मुख्य मागहरूमाथि एकताबद्ध रहन आग्रह गरे।
गुरूङका अनुसार आन्दोलनले निकट भविष्यमा देशव्यापी कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।


