काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुईजना पूर्वमन्त्रीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख अधिकृत रामचन्द्र अधिकारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो र सजायको माग गरिएको छ।

त्यसैगरी घरजग्गा व्यवसायी तथा बिचौलिया सुजन कुमार तामाङ, खेम (खमबहादुर) पुन, याम कुमारी गुरुङ र तुलसी बुढा मगर पनि मुद्दामा प्रतिवादी बनाइएका छन्।
अख्तियारका अनुसार घुस र कमिसनको लेनदेन विभिन्न माध्यमबाट भएको प्रमाण भेटिएको छ। अनुसन्धानबाट पूर्वमन्त्री गुप्ता, मन्त्री श्रेष्ठ र सुजन तामाङले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी लिची बगान क्षेत्रको जग्गा हडप्न योजनाबद्ध रूपमा संलग्न भएको पाइएको छ।

जग्गा हेर्ने क्रममा उनीहरू सँगै गएको र त्यसपछिको करार सम्झौता तथा बैंक कारोबारमार्फत ७५ लाख रुपैयाँ गरिमा विकास बैंकमा तुल्सीराम बुढा मगरमार्फत जम्मा भएको प्रमाण पनि फेला परेको अख्तियारले जनाएको छ।
यसैबीच, सोही मुद्दामा मुछिएका तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि लागेको ३२ लाख घुस लिएको आरोपबारे भने आयोगले छुट्टै मिसिल बनाएर थप अनुसन्धान गर्ने निर्णय गरेको छ।

उक्त प्रकरणसँग सम्बन्धित घुसको अडियो रेकर्ड सक्कली भएको प्रमाणित भएपछि मन्त्री गुप्ताले अघिल्लो वर्ष नै आफ्नो पदबाट राजीनामा दिएका थिए।
pokhara litchi bari land case


