वीरगञ्ज, २२ असोज ।
वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा (एमाले) को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्। बुधबार आयोजित जेनजी युवाहरूको भेलामा सहभागी हुँदै उनले पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएको घोषणा गरेका हुन्।

यसअघि जेनजी आन्दोलनका क्रममा एमाले वीरगञ्ज महानगर उपाध्यक्ष पदबाट राजीनामा दिएका परागले असोज ६ गते नै साधारण सदस्यबाट पनि अलग भइसकेको बताए। “त्यो कुरा मिडियामा आएको थिएन, त्यसैले आज सार्वजनिक गरें,” उनले भने।

घडिअर्वास्थित पोखरी पार्कमा आयोजित जेनजी युवाहरूको भेलामा बोल्दै परागले सुशासन, जवाफदेहिता र परिवर्तनको माग बोकेको पुस्ता (जेनजी) प्रति एमाले नेतृत्वबाट कुनै सकारात्मक संकेत नआएको आरोप लगाए। उनले अहिले कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट गर्दै अबको आफ्नो यात्रा जेनजी आन्दोलनसँगै हुने घोषणा गरे।
उता नेकपा (एमाले) पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको राजीनामाबारे कुनै औपचारिक जानकारी नभएको बताएका छन्। “लिखित रूपमा उहाँले राजीनामा दिनुभएको छैन,” शर्माले भने, “यसअघि पनि सामाजिक सञ्जालमा मात्रै कुरा आएको थियो। लिखित रूपमा आएपछि मात्रै पार्टीले निर्णय लिनेछ।”

रामकिशोर सिंह पराग वीरगञ्जका चर्चित स्थानीय जनप्रतिनिधि हुन्। उनी सामाजिक र युवासम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएका छन् र हालको जेनजी आन्दोलनप्रति खुला समर्थन जनाउँदै आएका छन्।


