काठमाडौं, २३ असोज। राजधानीको निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका १८ जना जेन–जी आन्दोलनका अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अभियन्ताहरूले सिंहदरबार र बालुवाटार क्षेत्र नजिक ‘नयाँ राजनीतिक संस्कृतिको माग’ र ‘भ्रष्ट नेताहरूको राजीनामा’ भन्ने नारासहित प्रदर्शन गर्न खोजेका थिए।

प्रहरीले उनीहरूलाई रोक्दै शान्ति सुरक्षा भंग हुने आशंकामा नियन्त्रणमा लिएर Metropolitan प्रहरी वृत्त सिंहदरबारमा राखेको जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेका युवाहरूलाई आवश्यक अनुसन्धानपछि कानूनी प्रक्रिया अघि बढाइनेछ।

उता, जेन–जी अभियन्ता समूहले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पक्राउको विरोध गर्दै “अभिव्यक्तिको अधिकारमाथि अंकुश लगाउने प्रयास अस्वीकार्य” भन्दै तत्काल रिहाइको माग गरेको छ।


