वीरगंज । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी र क्षतिपछि थला परेको वीरगंज महानगरपालिका कार्यालय पुनःसञ्चालनको चरणमा पुगेको छ। सरकारी संयन्त्र मात्रै होइन, निजी क्षेत्र र सामाजिक संस्थाहरूले पनि पुनःनिर्माणको अभियानलाई गति दिइरहेका छन्।

कार्यालय भवन र उपकरण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि महानगरका प्रशासनिक सेवा ठप्पजस्तै भएका थिए। तर पछिल्ला हप्तामा निजी क्षेत्रका सहयोगले नगरको प्रशासन फेरि गतिशील बन्दै गएको छ।

एन.पी.एल. समाज कल्याण संस्थाले सात थान कम्प्युटर र तीन थान प्रिन्टर सहयोग स्वरूप उपलब्ध गराएको छ भने ब्रिटानिया नेपाल प्रा.लिले २० थान अफिस कुर्सी प्रदान गरेको छ। यसअघि सूर्य नेपाल प्रा.लि. र औषधि उत्पादक संघले पनि विभिन्न विद्युतीय सामग्रीहरू सहयोगका रूपमा दिएका थिए।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार, प्राप्त सहयोगले न केवल प्रशासनिक काम सहज बनाएको छ, बरु “संस्थागत मनोबल र पुनःनिर्माणको भावना” पनि बढाएको छ। उहाँले भने, “सरकारी स्रोत मात्रले सम्भव नहुने पुनःउठानमा निजी क्षेत्रले दिएको साथले वीरगंजलाई फेरि उठ्न ऊर्जा दिएको छ।”
स्थानीय उद्योग–व्यवसायीहरूले महानगरको पुनःसंरचनामा दीर्घकालीन सहकार्य गर्ने तयारी गरेको पनि बताइएको छ। महानगरले अब प्राप्त सामग्रीहरू प्रशासनिक कार्य सञ्चालनमा प्रयोग गर्ने र बाँकी आवश्यक उपकरणका लागि निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने योजना बनाएको छ।


