काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का निवर्तमान सांसद तथा नेता किसान श्रेष्ठले आफूहरू एमाले फर्कने तयारीमा रहेको छन्। उनले एमाले नेतृत्वसँग छलफल भइरहेको जनाउँदै सोमबारसम्म टुंगो लाग्ने सम्भावना रहेको बताए।

उनले भने, “एमालेमा फर्कने भन्ने निर्णय हामीले गरिसकेका छौं। उसले बाटो खोलेको छैन, तर छलफल भइरहेको छ। आज केही न केही निष्कर्ष निस्कन्छ।”

उनले आफूहरू माओवादी केन्द्रसँग एकता प्रक्रिया वा झलनाथ खनाल–घनश्याम भूसाल नेतृत्वको पुनःगठन अभियानमा सहभागी नहुने स्पष्ट पारेका छन्।“अब बीचमा अल्झिएर बस्दैनौं। हाम्रो स्पष्ट कुरा छ— माओवादीसँग एकता पनि होइन, पुनःगठन पनि होइन,” उनले भने।

श्रेष्ठका अनुसार एमाले फर्कने तयारीमा रामकुमार झाँक्री, अमरबहादुर थापा, डा. वंशिधर मिश्र, होम बुढाथोकी, पीताम्बर तिमिल्सिना, अर्जुन राई लगायतका नेताहरू पनि छन्। उनले भने, “केन्द्रीय नेताहरूको हकमा एकता गर्नेभन्दा एमाले फर्कने पक्षमा धेरै छन्। ”

गएको शुक्रबार एकीकृत समाजवादीले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। त्यसपछि आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ राजनीतिक दलबीच एकताको सहमति भएको छ। नयाँ एकीकृत पार्टीको केन्द्रीय समिति बैठक कात्तिक २० गते बस्ने तयारी छ।


