काठमाडौं । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बाहिरिएको घटनाको छानबिनका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले बयान प्रक्रिया तीव्र पारेको छ।

आयोगले सोमबार नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको छ भने आजै लामिछानेसँग सोधपुछ गर्ने तयारी गरेको छपूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले सिंहदरबारस्थित कार्यालयमा बयानका क्रममा जोशीसँग घटनाबारे विस्तृत जानकारी लिएको स्रोतले जनाएको छ।

जोशीले लामिछाने निस्केको डेढ घण्टापछि रास्वपा समर्थकहरूले पत्र ल्याएर हस्ताक्षर गराएको बताएका छन्। “रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए, तर सुरक्षा कारणले पत्रको ब्यहोरा हेरिनँ,” आयोग स्रोतले जोशीको भनाइ उद्धृत गर्दै जनाएको छ।जोशीका अनुसार पत्र कारागार प्रशासनले होइन, लामिछानेका समर्थकहरूले नै बनाएर छाप हानेका हुन् र आफूलाई धम्क्याएका थिए।

लामिछाने भने कारागार प्रशासनकै आग्रहमा आफू बाहिरिएको दाबी गर्दै पत्र सार्वजनिक गरेका थिए। उक्त पत्रमा गृह सचिवको आदेशअनुसार थुनामुक्त गरिएको र “देशमा अमनचैन खलबलिन सक्ने” भन्दै तत्काल रिहा गर्ने निर्णय गरिएको उल्लेख छ।आयोगले यसअघि नख्खु कारागारको स्थलगत निरीक्षण र सुरक्षार्थ खटिएका प्रहरी तथा सशस्त्र प्रहरी अधिकारीहरूको बयान पनि लिइसकेको छ।

स्रोतका अनुसार आजै रवि लामिछानेसँग बयान लिने तयारी गरिएको छ। आयोगले सबै पक्षको बयानका आधारमा वस्तुनिष्ठ प्रतिवेदन तयार गर्ने जनाएको छ।
#रबि#नख्खु कारागार


