जनकपुर | मिथिलाञ्चलको प्रतिष्ठित तथा भव्य मानिने विवाहपञ्चमी महोत्सव औपचारिक रूपमा सुरु भएको छ।
बिहीबारदेखि थालनी भएको महोत्सवको पहिलो दिन जनकपुरधाममा बिहानैदेखि भक्तजनहरूको भीड जम्मा भएको देखियो।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज नगरदर्शन विधि सम्पन्न गरियो। नगरदर्शनका अवसरमा श्रद्धालुहरू पूजा–आराधनाका लागि जानकी मन्दिर पुगेका थिए। भगवान् राम र लक्ष्मणले पहिलोपटक प्राचीन मिथिलाको राजधानी जनकपुरधाम भ्रमण गरेको ऐतिहासिक प्रसङ्गलाई स्मरण गर्दै प्रत्येक वर्ष विवाहपञ्चमीको आरम्भमा नगरदर्शनको विधि आयोजना गरिन्छ। 
आजको विधिमा राम–लक्ष्मणको प्रतीक मानिएका दुई बालकलाई नगरभरि घुमाइने परम्परा अनुष्ठान गरियो। त्यही अवसरमा मिथिलाको राजधानीमा मंगलगान पनि प्रस्तुत गरियो। नगरदर्शनका लागि जानकी मन्दिर परिसरमै कृत्रिम बजार निर्माण गरिएको थियो।
कृत्रिम बजारमा मुरही, कचरी, चिया, पान, मखान, मिठाई, खेलौना, मिथिला कला, कपडा, सिन्दुर, टिकली लगायतका परम्परागत सामग्रीका स्टलहरू सजाइएका थिए। राम–लक्ष्मणको प्रतीक रहेका ती दुई किशोर बालकलाई रातो कार्पेट बिछ्याएर सो बजार घुमाइयो।



