काठमाडौं | पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखी उनीहरूलाई रक्षासम्बन्धी संवेदनशील कागजात उपलब्ध गराएको आरोपमा भारतको आसामस्थित तेजपुरबाट एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारी पक्राउ परेका छन्।

सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थका अनुसार पक्राउ पर्ने व्यक्ति अवकाश प्राप्त कुलेन्द्र शर्मा हुन्। उनले सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका थिए।प्रहरीका अनुसार शर्मालाई करिब दुई हप्तादेखि निगरानीमा राखिएको थियो। यस क्रममा उनको तथा उनका सामाजिक सञ्जाल खाताबाट विभिन्न कागजातहरू जफत गरिएको छ। उनलाई पाँच दिनका लागि प्रहरी हिरासतमा राखिएको जनाइएको छ।
शर्मामाथि भारतको सार्वभौमसत्ता, एकता र अखण्डतालाई खतरामा पार्ने, भारत सरकारविरुद्ध युद्ध छेड्ने, आपराधिक षड्यन्त्र र प्रमाण नष्ट गर्ने अभियोग लगाइएको छ।प्रहरीका अनुसार वायुसेनाबाट अवकाश लिएपछि शर्मा तीन वर्षअघि तेजपुर विश्वविद्यालयको इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङ विभागमा प्राविधिक सहायकका रूपमा कार्यरत थिए। यसबारे बीबीसीले समाचार प्रकाशन गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट उनले राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारी अज्ञात व्यक्तिहरूलाई उपलब्ध गराएको आशंका गरिएको प्रहरीले जनाएको छ।


